काठमाण्डौ,१२ पुस । लामो समयसम्म सुस्ताएको शेयर बजारले दुई दिनमा नै १ सय १५ अंकको उचाइ लिएको छ । सोमबार ५६ अंकले बढेको बजार मगंलबार पनि ५९ अंकले बढेपछि सूचक १९८३ अंकमा पुगेर बन्द भयो ।
अर्थमन्त्री विष्णु पौडेल बन्ने पक्कापक्की भएसँगै बढ्न थालेको शेयर बजार आज पनि बढ्न पुगेको हो । पौडेलले पदभार ग्रहण गरेर पुँजी बजारको गिरावट रोक्ने गरी नीति निर्माण गर्ने अभिव्यक्ति दिएसँगै मंगलबारको बजारमा त्यसको प्रभाव देखियो । जसका कारण उत्साहित लगानीकर्ताले आजै चार महिनायताकै सबैभन्दा धेरै कारोबार पनि गरे ।
मंगलबार नेप्से सूचक ५९।८७ अंकले बढेर १९८३।९५ अंकमा बन्द हुँदा लगानीकर्ताले २ सय ६१ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार गरेका हुन् ।
यो भदौयताकै सबैभन्दा धेरै कारोबार हो । योभन्दा अघि भदौ १८ गते ४ अर्बको कारोबार भएकोमा त्यसपछिका दिनमा भने सोभन्दा माथिको कारोबार हुन सकेको थिएन ।
नेप्से २१ सय अंकमा पुगेको मौका पारेर कारोबार बढाएका लगानीकर्ताले त्यसपछिका दिनहरूमा नेप्से घटेसँगै कारोबारलाई पनि कम गराएका थिए । आज नेप्से भने २००० अंक नछोइकन फर्किन पुग्यो ।
बजारमा नेप्से सूचक र कारोबार दुवैले गति लिँदा २ सय २ कम्पनीको शेयर मूल्य बढेको छ । भने ८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बढ्नेमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जशिल लघुवित्त अगाडि छन् । यी ४ वटै कम्पनीको शेयर मूल्यमा सर्किट लागेको हो ।
घट्नेमा भने आज लघुवित्तकम्पनीहरू मात्रै छन् । कुल ८ वटा कम्पनी घट्दा ७ वटा लघुवित्त मात्रै रहेका हुन् । जसमा अधिखोला, सीवाइसीलगायतका कम्पनी शेयर मूल्य घट्नेमा अगाडि छन् । कारोबारमा भने आज लक्ष्मी बैंक अगाडि छ । यो बैंकको २० करोड रुपैयाँको शेयर कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्