काठमाडौँ, १४ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् ।
कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए । कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।
गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्