Banner News

प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न



काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दललाई धन्यवाद दिए । उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताए ।

प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए । प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने बताउँदै संवैधानिक पदहरूको चुनावमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।