Banner News

सभामुखमा उम्मेदवारी दर्ता आज : यस्तो छ कार्यतालिका



काठमाडौँ, ४ माघ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ ।

प्रकाशित कार्यतालिका अनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ । बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले उम्मेदवार बनाउने निश्चित छ । तर एमाले, नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागेको छैन । सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ । मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ ।