समाचार

हिउँदे वर्षा घट्दा बढ्यो प्रदूषण



काठमाडौँ, ४ माघ । माघ पहिलो साता, काठमाडौँको तापक्रम घटदो छ। र, पनि हिउँदे वर्षा हुन सकेको छैन । वर्षा नहुँदा मुलुकमा अत्यधिक प्रदूषण र सुक्खा बढेको छ। काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा निकै बढेको विज्ञहरूको भनाइ छ ।

अर्को सातादेखि भने हिउँदे झरी पर्ने प्रवल सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमानअनुसार पश्चिम नेपालमा सोमबारदेखि वर्षा सुरु हुनेछ । काठमाडौँमा मंगलबारदेखि वर्षा हुनेछ । काठमाडौँमा मंगलबारदेखि बिहीबारसम्म लगातार वर्षा हुने अनुमान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार करिब साढे तीन महिनादेखि पानी पर्न सकेको छैन । जसका कारण उपत्यकामा प्रदूषणको मात्रा अध्यधिक बढेको छ। तर, सोमबारबाट पश्चिम नेपालमा र मंगलबारबाट काठमाडौँमा पानी पर्ने सम्भावना एकदमै धेरै छ। पोखरेलका अनुसार दुईवटा विश्वव्यापी मौसम पूर्वानुमान मोडलले हिउँदे वर्षा हुने देखाएको हो ।

‘युरोपियन मोडल (ईसीएमडब्लूएफ) र अमेरिकन मोडल (जीएफएस) बाट हेरिएको हो। दुवै विश्वव्यापी मोडल हुन’ पोखरेलले भने ‘यी मोडलहरू मौसम पूर्वानुमानमा विश्वासनीय मानिन्छ । तीन दिन लगातार पानी पर्ने देखिन्छ ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।