Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, ४ माघ । मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका हुन् ।

७ वटा सार्वजनिक निर्णयहरु :

१. सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

२. विदेशी प्रतिनिधिलाई मन्त्रीहरूले भेट्दा परराष्ट्रमन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ ।

३. बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्विन्टल ७० रूपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको छ ।

४. बैठकले विभूषण वितरण गर्ने सम्बन्धमा मापदण्ड तयार गर्न अध्ययन समिति गठन गर्ने निर्णय गरिएको छ ।

५. बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

६. क्रसर उद्योगसँग सम्बन्धित समस्याका बारेमा बैठकमा छलफल भएको र थप अध्ययन गरी उपयुक्त निर्णयमा पुग्ने सहमति भएको छ ।

७. सरकारको न्यूनतम साझा कार्याक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित कार्ययोजना बनाउन सात दिनको समय प्रदान गरिएको छ । त्यस्तै बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरूवा गर्ने निर्णय गरेको छ ।