राजनीति

उपसभामुखमा इन्दिरा राना मगरले गरिन् उम्मेदवारी दर्ता



काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

आज राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । राना मगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् ।

उम्मेदवारी दर्ता गराएपछि पत्रकारसित कुरा गर्दै उनले आफ्नो पार्टी र सत्ता गठबन्धनका दलले आफूलाई यो जिम्मेवारी दिन लागेको बताइन् । कैद भुक्तान गरिरहेका आमासँगै कारागार पुगेका तथा त्यहीं जन्मिएका बालबालिकाको शिक्षादीक्षामा काम गर्दै आएकी उनले भनिन्, ‘म सधैं सडकमा कराइरहने भुईं मान्छे सबैको साथ पाएर यो ठाउँमा पुग्न लागेकी छु, भुईं मान्छेकै पक्षमा निर्णायक भूमिका खेल्नेछु ।’