Banner News

पपुवा न्युगिनीविरुद्धको जितसंगै नेपाल विश्वकप छनोट नजिक



काठमाण्डौ,२९ फागुन । घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सहजजित निकालेको छ ।
९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो । नेपालका लागि आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा चाठ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाएर अविजित रहे । त्यस्तै, कुशल मल्ल १२ रनमा अविजित रहे । नेपालका लागि कुशल भुर्तेलले १४ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।
यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले खराब प्रदर्शन गर्दै नेपाललाई झिनो लक्ष्य दिएको हो । पपुवा न्युगिनीले ३२ ओभरको समाप्तिमा सबै विकेटको क्षतिमा ९५ रन बनायो ।
नेपाली बलरको किफायती बलिङमा पपुवा न्युगिनीका ब्याटर सस्तैमा समेटिए । कप्तान असद भालाले २०, सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र हिरी हिरीले १४ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले १० ओभरमा एक ओभर मेडन राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । त्यस्तै, कुशल मल्ल र ललितनारायण राजवंशीले समान २–२ विकेट लिए । यता, सोमपाल कामीको नाममा एक विकेट रह्यो ।
सन्दीपले चार्ल्स अमिनी, कप्तान असद भाला, सेसे बाउ, हिला भरे र सिमो कामेयालाई आउट गराए । त्यस्तै, कुशल मल्लले नोरमन भनुवा र काबुवा मोरेयालाई आउट गराए । ललितले रिले हेकुरे र किप्लिन डोरिगालाई आउट गराए । यता, सोमपालले हिरी हिरीलाई आउट गराए ।
यो जितसँगै नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने अवसरलाई झनै बलियो बनाएको छ । अब नेपालले आफ्नो अन्तिम खेलमा यूएईलाई पराजित गरे विश्वकप छनोटमा सिधै पुग्नेछ ।
यो जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको नामिबियाको कुल ३६ खेलबाट ३९ अंक छ । शीर्ष स्थानमा रहेको स्कटल्यान्ड यसअघि नै लिग टु को च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले ३६ खेलबाट ५० अंक बनाउँदा दोस्रो स्थानमा रहेको ओमानले आफ्नो सबै ३६ खेलबाट ४४ अंक बनाएको छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब नेपाल र नामिबियामध्ये एक टिम विश्वकप छनोटमा पुग्नेछ ।
नेपाल चौथो स्थानमा रहँदा पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । छैटौँ स्थानमा रहेको यूएईको ३४ खेलबाट ३१ अंक हुँदा नेपालसँग पराजित भएको पपुवा न्युगिनीको ३५ खेलबाट ११ अंक छ ।