समाचार

आजको मौसम



काठमाडौँ, ३० फागुन । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । पहाडी र तराईका केही भागमा हल्का वर्षाको सम्भावना रहेको हो । देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।