भक्तपुर, १३ चैत । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट जात्रा यो वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।
नयाँ वर्षको चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी यो जात्रा सुरु हुन्छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिंगो उठाइन्छ । वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिंगोजात्रा गरी साँझ लिंगो ढालेर जात्रा मनाइन्छ । जात्राका लागि अत्यावश्यक रहेको भैरव र भद्रकालीको रथ निर्माण सुरु भएको छ ।
टौमढीस्थित पाँचतले मन्दिर प्रांगणमा एक महिनाअगाडिदेखि रथ निर्माणका लागि विभिन्न आकारका काठ तयार गर्ने, पांग्रा बनाउने, बिग्रिएका सामानको मर्मत गर्ने, बुट्टा बनाउने कार्य भइरहेको गुठी संस्थान भक्तपुरको प्रमुख खिमा वलीले जानकारी दिइन् ।
उनका अनुसार नयाँ काठ किनेर एउटा नयाँ पांग्रा निर्माण गरिएको र अरू पांग्रा मर्मत गरिएको छ । यही चैत १६ गतेदेखि भैरवको रथका पांग्रा र विभिन्न पाटपुर्जा जडान गर्दै करिब २३ गतेसम्म प्यागोडा शैलीको तीनतले रथ निर्माण सम्पन्न गरेर रङरोगन गरिनेछ । उनले भनिन्, “रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौँ । जात्रा व्यवस्थापन समिति समेतको टोलीले डोरीको परीक्षण गरिएको छ । ५५ हात लामो, नाङ्लोजस्तो फराकिलो फेद भएको लिंगोजात्राका लागि चाहिन्छ । गत वर्ष दुई लिंगो रहेकाले यस वर्ष नयाँ लिंगो भने ल्याइएन । यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”
लिच्छविकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गरिने परम्परा छ । जात्राको मुख्य आकर्षण भनेकै रथजात्रा र लिंगोजात्रा हो । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रांगणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । सुरुको दिनमा तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रय पुर्या ई रथ फर्काउने प्रचलन छ । नयाँ वर्षको चार दिनअघि अर्थात् चैत २७ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ ।
विक्रम संवत्अनुसार सौरमासका आधारमा तान्त्रिक विधिअनुसार चल्ने बिस्केट जात्रा नेपाल भाषामा बीःसित (नाग मर्यो ), बीय जात्रा (नागको जात्रा), बीःस्यात (नाग मारियो) हुँदै पछि अपभ्रंश भई बिस्केट जात्रा हुन गएको बताइन्छ ।
रथ तल्लो क्षेत्रमा बुलुचा, नासमना, वंशगोपाल, तेखापुखुतिर लैजाने प्रचलन छ भने भैरव तथा भद्रकालीको रथजात्रा गरी गःहिटी पुर्यापएर पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ । दोस्रो दिन भद्रकालीको रथ गःहिटी खलाटोल अजिमा देवताघर पुर्याेइन्छ भने तेस्रो दिन गःहिटीमा भैरवलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । ल्यासिंखेलमा चैत मसान्तको साँझ ५५ हात लामो इन्द्रध्वजासहितको लिंगो उभ्याउने परम्परा छ । सुरुमा बिस्केट जात्रा लिंगो उभ्याउने र ढाल्ने दिनमा मात्र मनाइन्थ्यो । पछि मल्लकालमा यो जात्रा भैरव र भद्रकालीको रथयात्रा गरी प्रत्येक टोलटोलमा शक्तिशाली देवीदेवताको पूजा गर्दै मनाउने प्रचलन रहेको हो । रथ तान्दा अप्रिय घटना नहोस् भनेर रथ तान्ने दिन रथमा ६ भैरव नाइके, पाँच चौगुठी र दुईजना तलेजुका पुजारी रहने चलन रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताए ।
वैशाख ५ गते जात्राको अन्तिम दिन भएकाले सो दिन पनि सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने गर्छन् । त्यसपछि रथ पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरेर देउतालाई भैरव मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्