Banner News

मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री दाहाल, देउवा र नेपालबीच छलफल



काठमाण्डौ, १३ चैत्र । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालसँग मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् । तीन नेताबीच मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे सत्ता गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ ।

सत्ता गठबन्धनको बैठक बसेर भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति पनि शीर्ष तीन नेताबीच भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ६ चैतमा संसदमा दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन । भोलि मंगलबार बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय माओवादी केन्द्रका लागि नै छुट्याएर बाँकी मन्त्रालयमा भागवण्डा गर्ने तयारीमा छन् ।