रुपन्देही, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यामहरूलाई युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नआत्तिन आग्रह गरेका छन ।
आज बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चारमाध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट आत्तिन आवश्यक नरहेको बताए ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ‘ब्रेकिङ न्युज’ को सम्भावना नरहेको तर्कसमेत गरे । उनले भने, ‘अत्यन्तै तीव्रताका साथ सञ्चारका प्रविधिहरू विकास भइरहेका छन । टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालसँग हच्किएकाे देख्छु । तर समाचारका स्राेतहरू टेलिभिजन लगायतका सञ्चारमाध्यमहरू नै हुन् । त्यसैले सञ्चारमाध्यम सामाजिक सञ्जालबाट हच्किन पर्दैन । टेलिभिजनबाट समाचार प्राप्त गरेर नै त्यो समाचारलाई लिएर अरूले बनाउने हो ।’
प्रतिक्रिया दिनुहोस्