काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तयारी छ । सरकारमा जाने मन्त्रीहरू छान्ने र उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेबारे कार्यसम्पादन समिति बैठकमा छलफल गरिने एक पदाधिकारीले बताए । तनहुँ १, चितवन २ र बारा २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
कांग्रेसले उपप्रधानमन्त्रीसहित ८ मन्त्री पाउने भएको छ । योग्यता, क्षमता, प्रादेशिक सन्तुलन र समावेशी सिद्धान्तसमेत ख्याल गर्दै मन्त्री छान्ने मापदण्ड यसअघि नै बनेको थियो । सोही आधारमा आज मन्त्री छान्ने तयारी छ । दलहरूले आज प्रधानमन्त्री दाहाललाई मन्त्रीको नाम बुझाएमा आज बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्