सोलुखुम्बु, २१ चैत । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–२ रात्माटेमा ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार मृत्यु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट सङ्खुवासभा जाने तयारीमा थिए ।
हिँड्दै गर्दा उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको उनले बताए । थोमससहित ३ अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै सङ्खुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए । शवको कानूनी प्रक्रिया पूरा गरिएको छ ।
उनको शव मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्