Banner News

उद्घाटन खेलमाःमलेसियालाई पराजित गर्दै नेपालको विजयी सुरुवात



काठमाण्डौ,५ वैशाख । घरेलु टिम नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । समूह ‘ए’ को खेलमा मलेसियाविरुद्ध नेपालले सहज जित निकालेको हो ।

२३६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३६।२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

नेपालका लागि कुशल मल्ल ७० रनमा अविजित रहे । उनले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, भीम सार्कीले ९८ बलमा पाँच चौकाको मद्दतमा ७१ रन बनाएर आउट भए । कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाए । उनले ४३ बलमा पाँच चौकाको मद्दतमा ४२ रन बनाए । रोहित भिरन्दिप सिंहको बलमा आउट भए । कुशल भुर्तेलले ३१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाए ।

नेपालले सुरुवात भने खराब गरेको थियो । पहिलो ओभरमै नेपालले पाँच रन बनाउँदा पहिलो विकेटको रुपमा आसिफ शेख एक रनमा आउट भए । त्यसपछि नेपालले ५३ रन बनाउँदा दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ४८ रनको साझेदारी गरेका थिए । त्यसपछि तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ६६ रनको साझेदारी गर्दै नेपाललाई उकासे । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका कुशल मल्ल र भीमले ११२ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याए ।

यसअघि निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा मलेसियाले २३५ रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक चुनौती पाएको हो । टीयू क्रिकेट मैदानमा उद्घाटन खेलमा मलेसियाले राम्रो खेल्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भएको हो । मलेसियाका लागि कप्तान अहमद फाइजले ७६, भिरन्दिप सिंहले ४६, खिजार हायतले २२ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट गुल्सन झाले एक विकेट लिन सफल भए ।

सोमपालले खिजार हायत, सिएद अजिज र फित्री शामलाई आउट गराए । त्यस्तै, सन्दीपले कप्तान अहमद फाइजलाई आउट गराए । ९५ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै कप्तान फाइजले ७६ रन बनाए । त्यस्तै, सन्दीपले मोहम्मद स्याहदतलाई १५ र स्याज्रुल इद्रुसलाई २१ रनमा आउट गराए ।