समाचार

एकदिवसीय क्रिकेटमा सन्दीपको कीर्तिमान



काठमाडौँ, ८ बैशाख । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए ।

सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी

१. सन्दीप लामिछाने : ४१ खेलमा, २१ अप्रिल २०२३ मा
२. रसिद खान : ४४ खेलमा, २५ मार्च २०१८ मा
३. मिचेल स्टार्क : ५२ खेलमा, २१ अगष्ट २०१६ मा