काठमाडौँ, ९ बैशाख । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताएका छन् । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उनले बताए ।
काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उनले जानकारी दिए । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उनले भने ।
प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको महासचिव पोखरेलले बताए । नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलो पटक गरिएको भन्दै उनले पार्टीले के अपेक्षा राखेको थियो र केकस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताए । महासचिव पोखरेलले भने, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक सङ्गठानिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई पु¥याउन र स्थापित गर्न पनि हो ।”
“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने खालको बहुमतको सरकार बनाउने सामथ्र्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उनले थपे । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रुपान्तरित गरिने उनको भनाइ थियो ।
नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले पार्टीले देशभर सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको अनुभव र सिकाइ केकस्ता भए भनेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । यस अभियानले पार्टीमा थप सहयोग पुर्याउन सहरमा मात्र केन्द्रित नभएर हरेक स्थानीय तहसम्म पार्टीलाई सुदृढीकरण गर्न सहयोग पुग्ने बताए । पार्टीलाई सही ढङ्गले प्रतिक्रिया दिन अनुभव र सिकाइको अन्तक्र्रिया गरिएको उनको भनाइ छ ।
मिसन ग्रासरुट : अभियान र सिकाइको कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष विधान आचार्यले मिसनको उद्देश्यमा जनसङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले विभिन्न समुदायमा पार्टीलाई लैजान र स्थापित गर्न, पार्टी कार्यकर्ता तयार गर्न नर्सरीका रूपमा विकास गर्न र सरोकारका विषयमा आफ्नो समुदायको बढी केन्द्रित गर्न जनसङ्गठनको भूमिका धेरै रहेको धारणा राखे ।
उपाध्यक्ष आचार्यले मिसन ग्रासरुटबाट पार्टीभित्र छड्के परीक्षण भएकोसमेत बताए । आफ्नो जिम्मेवारीको बोध नगरेका सदस्यलाई जिम्मेवार बनाउनसमेत भूमिका खेलेको उनको भनाइ थियो । त्यसैगरी टिप्पणीकर्ता मीनबहादुर शाहीले पार्टीभित्र सही ढङ्गले सदस्यता वितरण गर्नुपर्ने बताए । उनले स्थानीय तहमा भएका कमिटी चलायमान राख्नुपर्ने र स्थानीय तहका कमिटीमार्फत सदस्य थप गर्दा अझ प्रभावकारी हुने धारणा राखे । रासस
प्रतिक्रिया दिनुहोस्