काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई बाँध्ने कानुन नबनाउने बताएका छन् ।
शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी र व्यवसायीलाई त्रासमा राखेर आर्थिक उन्नती नहुने बताएका हुन् । अर्थतन्त्रमा असहज स्थिति भए पनि निजी क्षेत्र तर्सिनु पर्ने अवस्था नरहेको पनि उनले बताए ।
“निजी क्षेत्रले सम्मानित भएको महसुस गर्ने वातावरण बनाउने मेरो लक्ष्य हो । व्यवसायीलाई दबाबमा राखेर आर्थिक विकास सम्भव छैन । तपाईंहरुलाई सम्मानित रुपमा काम गर्ने वातावरण बताउने मेरो चाहना हो,” उनले भने, “तर, अनेक तत्वको चलखेलले काम गर्न दिएको छैन । निजी क्षेत्रले पाएसम्म राज्यको दोहन भने गर्नुहुन्न । राज्यले पनि निजी क्षेत्र नाफामुुखी नै हुन्छ भनेर सोच्नु हुँदैन । हाम्रो सोचमा परिवर्तन गर्न आवश्यक छ ।”
प्रधानमन्त्री प्रचण्डले देशमा तीन तहको सरकार भए पनि केन्द्रीकृत मानसिकता परिवर्तन हुन नसकेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले देश संघीयतामा गए पनि सिंदरबारको मानसिकतामा परिवर्तन आउन नसकेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान समाजवाद र पुँजीवादका राम्रा कुरा मिलाएर बनाएको संविधान भएको पनि दाबी गरे । “आम जनतालाई आर्थिक र राजनीतिक क्रियकलापमा कसरी संलग्न गराउन सकिन्छ भनेर तीन तहको सरकार बनाइएको हो । तर, अहिले पनि हामी सिंहदरबारको सोचबाट मुक्त हुन सकेका छैनौँ,” उनले भने ।
प्रतिक्रिया दिनुहोस्