समाचार

अनलाइनबाट ठगी गर्ने ६ जना पक्राउ



धनुषा, १० बैशाख । धनुषा प्रहरीले अनलाइन ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३, लग्माका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफी रहेका छन् ।

उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५ सय नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५ सय रुपैयाँ रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।