चितवन, ११ वैशाख । चितवन–२ को मतगणना सुरू भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुदेँ सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आइतबार नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गरेको थियो ।
दुवैलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले सोमबार बिहान तीन बुदेँ सहमतिपछि मतगणना गर्न मञ्जुर भएकाले मतगणना सुरु गरिएको हो ।
जसअनुसार रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको विषय केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीलाई मतगणनास्थलमा उपस्थित हुन नदिनेलगायतका सहमति भएको थियो ।
चितवन–२ मा लामिछानेसहित नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ जनाइएको छ । जसअनुसार मतगणना स्थललाइ तारजाली घेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्