राजनीति

सांसद बरालको प्रश्न : सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?



काठमाडौँ, ४ असार । एमाले सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले यो देशमा सुशासन माग्न कहाँ जाने भनेर प्रश्न गर्दै सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् ।

उनले भनिन्, ‘२०७७ असोज २० त्रिवि परिसरमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी नेविसंघका विद्यार्थीहरूले कुटेर फालेका थिए’, ‘केही व्यक्तिले उठाएर उनलाई बचाए । ’ चलाउनेले आफूलाई कुटपिट गर्ने विरुद्ध मुद्दा हाले पनि सरकारले उक्त मुद्दा फिर्ता लिएको भन्दै उनले यो देशमा सुशासन माग्न कहाँ जाने भनेर प्रश्न गरिन् । सांसद बरालले सभामुखमार्फत सरकारको जवाफ माग्दै उनले भनिन्, ‘मुद्दा चलिरहेको छ तर सरकार पटक पटक मुद्दा फिर्ता लिने निर्णय गर्छ । अव यो देशमा सुशासन माग्न कहाँ जाने हो ? अब जनता कहाँबाट सुरक्षित हुने हो ? मरणासन्न हुने गरी फालिएको व्यक्तिबाट गरेको उजुरी सरकारले फिर्ता लिन्छ भने के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?’, ।