काठमाडौँ, ८ असार । धादिङ र रौतहटमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान भएका दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो । धादिङको गल्छी गाउँपालिका–७ गल्छीमोडस्थित सडकमा काठमाडौँबाट भारत राजस्थानतर्फ जाँदै गरेको एआर ०६ इ ७०३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार भारत राजस्थान बस्ने सिमा पारिककी छोरी १२ वर्षीया कल्पना पारिकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गल्छीस्थित अम्बिभरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रौतहटको वृन्दावन नगरपालिका–७ धमैरास्थित सडकमा प्र.२.०३–००७ प ६०३३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय जादोलाल पासवान रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको गरुडास्थित हेल्थ ल्याण्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको गरुडास्थित अनमिका अस्पताल हुँदै थप उपचारको लागि केएमसि अस्पताल काठमाडौँ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्