राजनीति

कृषि अर्थतन्त्र कमजोर हुँदा गरिबी हट्न सकेन : अध्यक्ष ओली



काठमाडौँ, १९ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि पेसा निर्वाहमूखी मात्रै भएकाले नेपालको गरिबी हटाउन नसकिएको बताएका छन् ।

आज पार्टी कार्यालय च्यासलमा पार्टीको कृषि तथा पशुपन्छी विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको दिगो विकास नै कृषि भए पनि कृषि अर्थतन्त्र नै कमजोर हुँदा गरिबी हट्न नसकेको उल्लेख गरे । उनले कृषिमा गरिने मेहनत र लगानीको प्रतिफलको ग्यारेन्टी गरिदिने हो भने कोही पनि बेरोजगार बस्नु नपर्ने बताए ।

अनाज उत्पादनका लागि प्राकृतिक र उर्बर भूमिलाई बाँझो राखेर देश उँभो नलाग्ने भन्दै ओलीले कृषिलाई आधुनिकीकरण गर्दै उद्योगमा लैजान सुझाव दिए । अध्यक्ष ओलीले कृषि क्षेत्रलाई रोजगारी र स्वरोजगारको अवसर बनाउँदै अनाज निर्यात गरेरै देशलाई धनी बनाउन सकिने दाबी गरे । उनले कृषिमा गरिने लगानी प्रभावकारी बनाउदै यसबाट आउने प्रतिफलको न्यायोचित वितरण गरिए विदेशबाट नेपाली आफै घर आउने दाबी गरे ।