काठमाडौँ, २१ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय नदिलाई विश्राम नलिने अठोट समेत गरेका छन् ।
प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विद्येयक पारित हुन नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । गृहमन्त्री श्रेष्ठले यसबाट को पीडित जनताको पक्षमा र को विपक्षमा रहेको छ भन्ने स्पष्ट भएको समेत बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री श्रेष्ठले आफू यसबाट धेरै आहत भएको बताएका छन् ।
बुधवार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।
यस्तो छ गृहमन्त्री श्रेष्ठको स्टाटस् :
धेरै समय पछि आज पुनः सामाजिक सञ्जालमा आएको छु।
आज म धेरै आहात भएको छु।आज प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो ।तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ। यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ ।
तर सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ। पीडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरुले सोचेका छन् भने त्यो ठुलो भ्रम हो । पीडितलाई न्याय नदिलाई बिश्राम लिइनेछैन ।
आयोगले काम जारी राख्नेछ । प्रजिअ कार्यालयमा सहजीकरण समितिको काम निरन्तर अघि बढ्नेछ। विधेयक संसदको प्रकृयामा छ, अघि बढाइनेछ र कानुन बनाइछाडिनेछ । तसर्थ पीडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दछु । न्याय र बिजय सुनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस्