राजनीति

प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध



काठमाडौँ, २१ असार । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।

गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।