समाचार

इन्टरनेटमा अध्ययन गरेर बङ्गुरपालन



पाल्पा, ४ साउन । रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्नेमा व्यतित भइरहेको छ । उनले बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट व्यवसाय चलाएका छन् ।

पाँच वर्षसम्म वैदेशिक रोजगारीबाट गाउँ फर्केपछि उनले बङ्गुरपालन व्यवसाय रोजेका हुन्। विभिन्न पेसा, व्यावसायको खोजीमा रहेका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उनी बताउँछन् ।

“व्यवसाय गर्न औपचारिक शिक्षा नै लिनुपर्छ भन्ने छैन, इन्टरनेटको सुविधा छ, त्यही आफूले खोजेका सबै कुराको जानकारी लिन पाइन्छ, इन्टरनेट हेरेर थालनी गरेको व्यवसाय अहिले राम्रै भइरहेको छ, यसमा म सन्तुष्ट छु”, उनले भने। कक्षा ७ सम्मको अध्ययन गर्नुभएका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गरेका हुन्। अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उनी बताउँछन्।

तीनओटा बङ्गुरबाट व्यवसाय सुरु गरेका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उनको भनाइ छ । कुनै पनि पेसा, व्यवसाय गर्न तालिम, गोष्ठी नै पर्खेर नै लिनुपर्छ भन्ने नभएको र, इन्टरनेटबाट आवश्यक कुरा खोज अनुसन्धान गरेर व्यवसाय चलाउनु सकिँदो रहेछ भन्ने समाजमा सारुले उदाहरण प्रस्तुत गरेका छन् । रासस