अर्थ

बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी



काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरु पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

आज प्रतिनिधि सभा, अर्थ समितिको बैठकमा बोल्दै बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताएका हुन् । उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भए पनि कर्जा विस्तार कम भएको बताए ।

उनले कर्जाको मागमा कमी हुनुको प्रमुख कारण समग्र मागको कमी भएको बताए । बैकिङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेकेा बताए । करिब ६० अर्ब राष्ट्र बैकले खिचेको उनले बताए । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भए पनि पछिल्ला दिनमा घट्दो क्रममा रहेको उनले बताए ।

बैकिङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहने उनको भनाइ छ ।