सुनसरी, ६ साउन । सुनसरीको इटहरी–१७ कान्छी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
सुनसरी प्रहरीका अनुसार इटहरी–१६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको हो । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमतर्फ जाँदैै गरेको भारतीय नम्बर डब्ल्यू बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को२९प ३७१२ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चारैजनालाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा करण, शम्भु र अनिनेशको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका २७ वर्षीय प्रेमलाल चौधरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द वरमुनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्