काठमाडौँ, १० साउन । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी गठन भएको दुई वर्षमै संकटमा फसेको छ ।
पार्टी र आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न चिह्न खडा गर्दै पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरूले नै पार्टी परित्याग गरी पुरानै दल नेकपा (एमाले)मा फर्कने लहर चलेसँगै एकीकृत समाजवादी संकटमा परेको हो ।
एमालेका संगठन विभाग सचिव गगन विष्टले एमालेमा फर्कने एकीकृत समाजवादी पार्टीका नेताहरूको लिस्ट लामो रहेको दाबी गर्दै भन्नुभयो– ‘एकीकृत समाजवादी पार्टी भनेर माधव नेपाललाई रुँगेर बस्ने नेताहरू कम हुँदैछन् । विगत एक वर्षभित्र उक्त पार्टीबाट एमालेमै फर्किएका जिल्लादेखि केन्द्रसम्मको नेतृत्व तहमा रहेका नेताहरूको संख्या तीन दर्जनभन्दा बढी छ । एमालेमा फर्कने केन्द्रीय कमिटी सदस्यहरू त्योभन्दा धेरै छन् ।’
गत जेठमा वरिष्ठ नेता मुकुन्द न्यौपानेसहित एकीकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा समाहित भएपछि पार्टी प्रवेशको लहर चलेको एमालेका नेताहरूले बताएका छन् । उपाध्यक्ष चुडामणी जंगली, सचिव भागवत विश्वासी, केदार न्यौपानेसमेत पछिल्लो समय एमालेमा फर्किसक्नु भएको छ । त्यस्तै, दर्जनभन्दा बढी केन्द्रीय सदस्य र करिब २० वटा जिल्ला नेताहरू एमालेमा समाहित भएको विष्टको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्