काठमाडौँ, १४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ ।
२०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर उनको वैध आय १ करोड २० लाख ७७ हजार ७४८ रुपैया ६९ पैसा मात्र रहेको अख्तियारको भनाइ छ । त्यसैले उनले १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन भएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
‘…निज राजु पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिंदा निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको’, अख्तियारले विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया दिनुहोस्