काठमाण्डौ,१५ साउन । निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सोमबार निर्माण व्यवसायीहरूले सरकारले आयोजनाको म्याद थपको आदेश र भुक्तानीलगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।
निर्माण व्यवसायीहरूले बिहान १० देखि ११ बजेसम्म प्रधानमन्त्री निवास घेराउ गरेका हुन् । व्यवसायीहरूले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । आइतबार मात्रै सार्वजनिक खरिद अनुगमन कार्यालयमा घेराउ गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्री निवासअगाडि निरन्तर धर्ना दिने बताए ।
उनले लामो समयदेखि निर्माण व्यवसायीहरूलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएका कारण आन्दोलन गर्न बाध्य भएको बताए । उनले सरकारले निर्माण आयोजनाहरूको प्रत्येक वर्ष म्याद थप गर्ने तर निर्माण आयोजना नसकिनुको प्रमुख कारण सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिनु भएको बताए ।
उनले सरकारले निर्माण उद्योगलाई प्राथमिकता नदिँदा निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीसमेत नपाएको बताए । उनले अर्थ मन्त्रालयमा अन्य विकासे मन्त्रालयबाट १० अर्बको बजेट रकमान्तर भएको र फाइल तत्काल हेरेर रकम भुक्तानी गर्नुपर्ने बताए ।
अध्यक्ष सिंहले सरकारले सार्वजनिक खरिद ऐनको १२ संशोधनबाट म्याद थप भएका आयोजना व्यावहारिक माइलस्टोनका कारण करिब ४० अर्ब रुपैयाँबराबरको कामको बिल बनाउन नसकिएको बताए । उनले माइलस्टोन खारेज गरी सम्पूर्ण आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरेको बताए ।
अध्यक्ष सिंहले करिब ४ खर्ब बराबरका आयोजनाको म्याद थप हुन लागेको भन्दै अधिकांश योजनामा बजेट व्यवस्थापनसमेत नभएको बताए । उनले सरकारले भुक्तानी गर्न नसक्ने योजना तत्काल खारेज गर्न माग गरे ।
प्रतिक्रिया दिनुहोस्