राजनीति

संघीयताविरोधी शक्तिहरू फेरि सल्बलाउन थाले: उपेन्द्र यादव



बारा, २८ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन्।

शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट सङ्घीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको आरोप लगाए।

तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको संख्या रहेपनि वर्तमान सरकारले १३ प्रतिशतमात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए। अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा संगठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए। रासस