राजनीति

बोल्दिनँ, बोलिसकेपछि तह लगाएरै छोड्छु : अध्यक्ष नेपाल



काठमाडौँ, २९ साउन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भागेर कतै जाने खालको मान्छे नभएको स्पष्ट पारेका छन् ।

प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि विदेश गएका थिए । सोमबार बिहान स्वदेश फर्किएर उनले आफ्नो भ्रमण र नेपालमा उत्पन्न परिस्थितिबारे स्पष्ट पारेका हुन् ।

उनले भने, “राजाले गिरफ्तार गर्न खोज्दाखेरि त नभाग्ने मान्छे म, तपाईंहरू सबैलाई थाहा होला, २०६२ सालको कुरा गर्नुस्, २०३२ सालको कुरा गर्नुस्, २०६१ सालको कुरा गर्नुस्, ती सबै सन्दर्भमा, ती सबै चुनौतीहरूको सामना गर्ने मान्छे म । कुनै गल्ती नगरेको, अपराध नगरेको, बदमासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा, अनि त्यत्तिकै कुनै सन्दर्भ छैन भन्न सकिन्छ,” “किनभने, कानुनको एउटा प्रसेस हुन्छ, त्यो प्रसेसअन्तर्गत नै सबै प्रक्रियाहरू अगाडि बढ्छन् । प्रसेस अगाडि बढेको पनि छैन । मेरो पहिलेदेखिको निश्चित, निर्धारित कार्यक्रममा मैले जाने अवस्था बन्यो ।”

चुनौती दिइसकेपछि सिधा सामना गर्ने आफ्नो शैली रहेको उनले बताए । तह लगाउनुपर्ने भए लगाएरै छोड्ने आफ्नो बानी रहेको उनको भनाइ छ । “म यहाँबाट जानेबित्तिकै केहीकेहीहरूले, अधिकांशले त ठिकै लेख्नुभयो । केहीकेहीहरूले माधव नेपाल भागे, लुकेर बसेका छन्, उनको नेपालमा फर्कने योजना पनि छैन, हिम्मत पनि छैन भनेर भनिसकेपछि मेरो पनि बानी के छ भने, चुनौती नदिएसम्म त म चुप लागेर बस्छु, चुनौती दिइसकेपछि सिधा सामना गर्छु । म त्यस्तो नेचरको मान्छे हुँ,” उनले भने, “म न बोल्दिनँ, बोलिसकेपछि अब तह लगाउनुछ भने तह लगाएरै छोड्छु ।”