राजनीति

चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सहमति हुने प्रधानमन्त्रीको विश्वास



काठमाडौँ, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास उनले विश्वास व्यक्त गरेका छन् ।

आज विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले  छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले एक हजार २०० मेगावाट क्षमताको बुढी गण्डकी जलाशय र १० हजार ८०० मेघावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठुला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढिरहेको जानकारी दिए। 

हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको प्रधानमन्त्रीले बताए । भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको उनले जानकारी दिए ।