अर्थ

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग



काठमाडौँ, १० भदौ । सुन तस्करी प्रकरणमा विदेशी नागरिकको समेत संलग्नता देखिएकाले नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअगाडिबाट बरामद गरेको थियो । अहिले सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । सीआईबीले शुक्रबार सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिक समेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस