समाचार

आजदेखि काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान



काठमाडौँ, १२ भदौ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आजदेखि भैरहवाको गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्दैछ ।

गएको जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा– काठमाडौँ उडान गर्दै आएको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्काे  उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

भैरहवाबाट बिहान ९ बजे काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई  गन्तव्य देशमा पठाइनेछ । पहिलो उडानमा आज निगमले भैरहवाबाट यात्रु लिएर काठमाडौँ आउनेछ । यसअघि निगमले भैरहवाबाट सिधै दिल्ली उडानको तयारी गरे  पनि  भारतले उडान अनुमति दिएको  छैन ।

भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमको योजना रहेको छ ।