Banner News

 सरकारले जनतालाई ढाँटेको छ : अध्यक्ष ओली



विराटनगर, १३ भदौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई ढाँटेको आरोप लगाएका छन् । 

१२ बुँदे व्याख्यात्मक घोषणा गरेर नेपाली जनतालाई तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काले ढाँटेको आरोप लगाएका हुन् । 

सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा जानका लागि विराटनगर विमानस्थल आएका ओलीले संचारकर्मीसँग भने, ‘तत्कालीन  सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो । पहिला नै पास गर्दा ठीक हुन्छ÷हुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर उहाँहरूले केही गर्नु भएन ।’

ओलीले एमसीसीबारे वर्तमन प्रधानमन्त्री प्रचण्डले पनि केही सोध्न जरुरी नभएको भन्दै सबै कुरा प्रष्ट भइसकेको बताए ।  ‘हिजो मात्रै प्रधानमन्त्रीले म सोध्छु भन्नुभएछ । सोध्नु किन पर्‍यो ? उहिले नै एमसीसीले जवाफ दिएको छ । उहिले नै भनेको छ यो सम्झौता हो । योभन्दा आरोप  केही पनि हुँदैन । कसका के कति बुँदे घोषणा हामीलाई कुनै सरकार छैन । हामी जान्दैनौं उसैबेला भनेको छ । उहाँले सोध्ने पनि होइन,’ ओलीले भने  ।