राजनीति

मन्त्री बस्नेत र बेलायतका राजदूत फेनबीच भेटवार्ता



काठमाडौँ, १३ भदौ । ऊर्जा जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा ऊर्जा मन्त्री बस्नेतले नेपाल र बेलायतबीच पुरानो कूटनीतिक एवम् मैत्री सम्बन्ध रहेको र त्यसलाई थप विस्तार गर्ने बताए ।  सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचकासाथ काम अगाडि बढाएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको साथ र सहयोग आवश्यक रहेको बताए । 

नेपालको विकास निर्माणमा बेलायत सरकारले लामो समयदेखि गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा थप क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरे ।