राजनीति

नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छः सभामुख घिमिरे



काठमाडौँ, १५ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् । 

आज ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउने गरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताए । 

उनले भने,  ‘संसारको सुन्दर मुलुकहरुमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढंगको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भईरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसावले आकर्षक क्षेत्रको रुपमा विकास गर्ने जे शुरुवात गरेको छ । यो राष्ट्रकै हीतको लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि नेपाली जनता र नेपाली जातिहरुले गौरव गर्ने चिजको रुपबाट विकास गर्ने शुरुवात हो भन्ने मलाइ लाग्दछ । यो शुरुवातलाई सबै पक्षबाट सहयोग गरेको खण्डमा काठमाडौंको यो प्रदुषण, काठमाडौंको यो बाल्लो बस्ती र त्यसलाई यहाँ आएर लिने मनारञ्जन र संसारभर यस्ता ठाउँहरु, यो जैविक विविधता, अनेक खालको रुख, विरुवाहरु, यहाँको हावापानीहरु, यसलाई जोगाउने कुरा यसलाई हेर्नका लागि पनि ठूलो धुईरो लाग्न सक्छ । र, यसले देशको विकासमा महालक्ष्मीले योगदानहरु गर्नसक्छ भन्ने मलाई लाग्दछ । र, यी नजिक गणेशमान सिंहको नाममा भएको पार्क, त्यसले आकर्षण दिइरहेको छ भने त्यसलाई कम्पिटिशन गर्दै यो आइरहेको छ । यस प्रकारको कम्पिटिसनले आकर्षण बढाउने, आम्दानी बढाउने र यसलाई अन्त प्रेरणा लिने ठाउँको रुपमा विकास हुन सक्छ । त्यसको लागि यहाँको मेयरज्युको मुख्य दायित्वको कुरा छ भने प्रदेशसभाका माननीयज्युहरु, प्रतिनिधि सभाका माननीयज्युहरु र खासगरी यहाँका लोकल जनसमुदायहरु, यहाँको सामुदायिक वन, वनका रक्षक जनताहरु । यी सबैले यसलाई त्यसरी लैजानुपर्छ । त्यो ठाउँ आज हेर्न पाउँदाखेरी धेरै खुशी लागेको छ ।’