काठमाडौँ, २० भदौ । बुटवलमा सम्पन्न नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्य समेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै बिजयी भएका हुन् । कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाए। उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए । त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणाम अनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोज प्रसाद श्रेष्ठले ४५५ मत पाएर बिजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए । सचिव पदमा कँडेलकै समूहका दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै पुरुष उपसचिवमा रिजाल समूहका रोल्पाका पूर्ण बुढा मगरले ४१८ मत पाएर विजयी बने भने उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारूले ३९३ मत पाए । थारूले कँडेलको समूहबाट उम्मेदवारी दिएका थिए। त्यसैगरी महिला उपसचिवमा कँडेल समूहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन् । रिजाल समूहकी बाँकेकी वसन्ती अधिकारीले ३५१ मत ल्याएर पराजित भइन् । गत १६ गते सुरु भएको एमाले लुम्विनीको प्रथम अधिवेशनमा कुल १ हजार ४ जना मतदाता रहेकोमा मंगलबार सम्पन्न निर्वाचनमा ९६५ मत मात्रै खसेको थियो ।
पाल्पाका कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र प्युठानका रिजाललाई महासचिव शंकर पोखरेलसँगै अध्यक्ष केपी शर्मा ओलीको समेत समर्थन रहेको थियो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदीले रिजालको पक्षमा मत माग्दै एकसाता अघिदेखि गोप्य भेला गर्दै आएका थिए । अधिवेशनको अघिल्लो दिनसम्म कुनै समूहमा नखुलेका पार्टी सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरी अन्तिम समयमा कँडेलको पक्षमा खुलेका थिए ।
प्रतिक्रिया दिनुहोस्