काठमाडौँ, २८ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सात वटा अस्पतालमा अनुगमन गरेको छ । सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पताल व्यवस्थित गर्नका लागि मन्त्रालयले अनुगमन गरेको बताए । अनुगमन टोलीले अस्पतालको जिन्सी अभिलेख व्यवस्थापन, औषधि उपकरणको अभिलेख, खरिद योजना तथा एक वर्षभित्रको खरिदको अभिलेख, औषधि मौज्दात विवरण, आपूर्ति व्यवस्थापन, औषधि तथा उपकरणको अद्यावधिक विवरणको अनुगमन गरेको थियो ।
उपत्यकामा रहेका वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल हृदय केन्द्र, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भक्तपुर क्यान्सर अस्पताल र मानसिक अस्पताल पाटनमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको पाइएको थियो । सबै अस्पतालमा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको व्यवस्थापन नभएको पाइएको थियो ।
चालु आर्थिक वर्षको योजना नभएको, कति औषधि तथा उपकरण खरिद गरेको र कति बाँकी छ भन्ने यकिन नभएको पाइएको थियो । गङ्गालाल अस्पतालमा मौज्दात औषधि नभएको पाइएको थियो ।
फोहोर मैला व्यवस्थापन राम्रो नभएको, खरिदको योजना नभएको, महामारी सङ्क्रामक रोग सम्बन्धी अस्पताल भए पनि आकस्मिक रूपमा महामारी फैलँदा त्यसको व्यवस्थापन गर्ने तयारी नभएको पाइएको थियो ।
वीर अस्पतालको उपचार सेवामा सुधार देखिएको, बिरामीको सङ्ख्या बढेको, शय्या सङ्ख्या बढेको पाइए पनि त्यहाँको मेडिकल स्टोर, जनरल स्टोर, फार्मेसी अस्तव्यस्त पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्