राजनीति

राष्ट्रपति पौडेलद्वारा बाल दिवसको शुभकामना



काठमाडौँ, २९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उनले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गरेका छन् । उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य भएको उल्लेख गर्दै उनले बाल्यकालको रेखदेखले नै मुलुकको भविष्यलाई प्रतिबिम्बित गर्ने बताएका छन् । 

राष्ट्रपति पौडेलले भनेका छन् “विभिन्न  कारणले  बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी छ । बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बाल अधिकारकर्मी, सामाजिक संघसंस्था, नीजि क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहनु भएको भूमिकाका लागि धन्यवाद दिन चाहन्छु”, । 

हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको उल्लेख गरेका छन् । उनले यस वर्ष ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाउन लागिएको बताए । सन्देशमा राष्ट्रपतिले भनेका छन्, “नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको  रूपमा सुनिश्चित गरेको छ । संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छन् । बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारी र गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको छ ।”