काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रासका कारण नेपाल उच्च जोखिममा परेको भन्दै यसले ठुलो चिन्ता थपेको बताएका छन् ।
आज काठमाडौँमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा बताएका हुन् ।
उनले भने, ‘परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ ।’ साथै उनले गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित भएको बताएका छन् ।
‘जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘यिनै चुनौतीहरूलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको यहाँहरूलाई अवगतै छ ।’
प्रतिक्रिया दिनुहोस्