काठमाडौँ, १ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा विकासको अथाह सम्भावना भए पनि भ्रष्टाचार र कमिसनखोरले देश बर्बाद हुँदै गएको बताएका छन् ।
गोरखा–काठमाडौँ युवा समाजद्वारा आयोजित युवाहरू भेटघाट तथा साक्षात्कार कार्यक्रममा उनले देश युवाहरूको भएको बताए । देशको एकता र विकासको लागि युवाहरूको निर्णायक भूमिका रहेको बताएका छन् । सुशासन र भ्रष्टाचार विरोधी अभियान सरकारले चालिरहेको गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादी पार्टी भए पनि गलत गर्नेले नछोड्ने बताए । साथै उनले नेताहरूलाई खबरदारी गर्न युवाहरूलाई आह्वान गरे । गृहमन्त्री श्रेष्ठले गोरखाको विकासका लागि साझेदारी गर्न आग्रह गरे ।
उनले भने, ‘नेपाल आजसम्म स्वतन्त्र देश हो । यसमा हाम्रो पुर्खाहरूको महत्त्वपूर्ण भूमिका छ । मिटर ब्याज सम्बन्धी कानुन ल्याएर मिटरब्याजी पीडितलाई न्याय दिन थालिएको छ । पुलिस प्रशासनमा सरुवा बढुवामा लेनदेन हुने कुरालाई सुन्यामा झारेका छौँ । भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी प्रकरण सबैलाई कारबाही अगाडि बढेको छ । गोरखालाई दुःख पिर पर्दा मेरो सहयोग रहन्छ । गोरखाको विकासका लागि साझेदारी गरौँ ।’
प्रतिक्रिया दिनुहोस्