काठमाडौँ, ६ असोज । चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ ।
शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो । नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका छन् । आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन् । बेइजिङमा उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको चोङकिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुका साथै त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्