समाचार

आजको मौसम



काठमाडौँ, ९ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ ।

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।