काठमाडौँ, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिबलाई नलखेट्न काठमाडौँ महानगरपालिकालाई सुझाव दिएका छन् । महानगरबाट गरिब नभई गरिबी लखेट्नुपर्ने उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिकाका फुटपाथमा व्यवसाय गर्दै आएकाहरुलाई विना व्यवस्थापन हटाइएपछि विरोध भइरहेका बेला ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीले महानगरबाट गरिबी लेखेट्नुपर्छ, गरिब होइन ।’
ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ ।
हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन ।
समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है ! धन्यवाद !’
प्रतिक्रिया दिनुहोस्