अर्थ

मन्त्री महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान



काठमाडौँ, ९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालजस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन् ।

इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठुलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका हुन् ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवं नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए ।