काठमाडौँ, १४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो, त्यो लिन नसकेको बताएका छन् ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को ४५औँ साधारणसभामा बोल्दै उनले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताए ।
मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए । “जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ । अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ,” उनले भने ।
“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कुल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हब बन्नेछ,” उनले भने ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताइन् । “सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ,” उनले भनिन् । उनले पर्यटन क्षेत्रसम्बन्धी ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरिन् । रासस
प्रतिक्रिया दिनुहोस्