काठमाडौँ, १९ असोज । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले तीन महिनाभित्र महानगरका मुख्य सडकमा सीसीटीभी र सडक बत्ती जडान गरिसकिने बताएकी छन् ।
आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले सीसीटीभीका लागि नेपाल प्रहरीसँग र सडक बत्तीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएर काम अघि बढाइएको जानकारी गराइन् । धुलोरहित सडक बनाउन महानगरले एक अर्ब रुपैयाँको टेन्डर अघि बढाइसकेको उनले उल्लेख गरिन् ।
उनले भने, “महानगरपालिकाले सीसीटीभीका लागि नेपाल प्रहरीसँग एमओयू गरिसकेको छ । र, एनईएसँग पनि रोड सेफ्टीसम्बन्धी जोडिने अर्को महत्त्वपूर्ण पाटो भनेको रोड लाइट्स हो । स्ट्रिक लाइटहरू हुन् । त्यसका लागि पनि हामीले एनईएसँग एमओयू गरिसकेका छौँ । तीन महिनाभित्र मुख्य सडकहरूमा सीसीटीभी कम्प्लिट रूपमा जडान भइसक्ने र सडक बत्ती पनि जडान भइसक्ने हामीले टार्गेट राखेका छौँ,” “धुलोरहित सडक हामीले हाम्रा गौरव र स्वर्णिम योजना पनि अघि सारेका छौँ । धुलोरहित सडकका लागि हामीले एक अर्बको टेन्डर पनि अघि बढाइसकेका छौँ । यो योजनामा विशेष गरी सडकका खाल्डाखुल्डी पुर्नेदेखि लिएर फुटपाथलाई व्यवस्थित बनाउने छ । सडकपेटीमा पैदलयात्रुलाई हिँड्ने वातावरण बनाउनेमा हामी कन्भिन्स छौँ । विद्युत् प्राधिकरणले सडकपेटीमा विद्युत् बक्स राखिदिएकाले पैदलयात्रीलाई असहज भएको छ ।”
प्रतिक्रिया दिनुहोस्